चाँगुनारायणमा खेलकुदको उत्सव — राष्ट्रपति रनिङ शिल्ड सुरु
खरीपाटी- पौष ०१
चाँगुनारायण नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता सुरु भएसँगै नगरको खेलमैदानमा बेग्लै रौनक छाएको छ। विभिन्न विद्यालयबाट आएका विद्यार्थी खेलाडीहरू आफ्नो प्रतिभा देखाउन मैदानमा उत्रिएका छन्।
प्रतियोगिताको उद्घाटन नगरप्रमुख जीवन खत्रीले झण्डोत्तोलन गर्दै गर्नुभयो। उहाँले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा मात्र होइन, अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धाको भावना सिकाउने बताउनुभयो। नगरपालिकाले बालबालिकाको खेलकुद प्रतिभा पहिचान गरी अगाडि बढाउने नीति लिएको उहाँको भनाइ थियो।
नगरभित्रका ३५ विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी यस प्रतियोगितामा सहभागी छन्। छात्र–छात्रा दुवैले उत्साहपूर्वक भाग लिएका छन्। कबड्डी, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, उसु, क्रिकेट, ब्याडमिन्टन, बास्केटबल र फुटसल गरी १० वटा खेल विधामा प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगिता आगामी पुष ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ। यस अवधिमा विभिन्न खेलका फाइनल प्रतिस्पर्धा समेत आयोजना गरिनेछ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। सबैले विद्यार्थीको क्षमता उजागर गर्ने अवसरका रूपमा प्रतियोगितालाई हेरेका छन्।
विगत तीन वर्ष लगातार एउटै विद्यालयले उपाधि जितेपछि यस वर्ष नयाँ राष्ट्रपति रनिङ शिल्ड निर्माण गरिएको जानकारी आयोजकले दिएका छन्।
चाँगुनारायणमा सुरु भएको यो प्रतियोगिताले विद्यार्थीलाई खेलतर्फ आकर्षित गर्नुका साथै नगरको खेलकुद संस्कृतिलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्