Breaking News
चर्चामा:

नगर परिचय

नगर परिचय

चाँगुनारायण समाचर जेष्ठ ५, २०८२
नगर परिचय

ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणको परिचित भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका नेपाल सरकारले मिति २०७३/११/२७ गतेको स्थानिय तह घोषणाबाट साविक चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर गठन भएको हो । मिति २०७१/८/१६ को मन्त्रिपरिषदको निर्णयानुसार साविक चाँगुनारायण, झौखेल, छालिड, दुवाकोट गा.बि.स. समेटेर चाँगुनारायण नगरपालिका तथा साविक नगरकोट, बागेश्वरी, सुडाल र ताथली गा.बि.स. समेटेर महामन्जुश्री नगरकोट नगरपालिका घोषणा भएको थियो । पछि महामन्जुश्री नगरकोट नगरपालिका नाम संशोधन भै नगरकोट नगरपालिका कायम भयो । चाँगुनारायण नगरपालिका र  नगरकोट नगरपालिका मिलाएर चाँगुनारायण नगरपालिका भए पछि ९ वटा वडा कायम भई नगरपालिकाको केन्द्र खरिपाटी, भक्तपुरमा रहेको छ ।
समुन्द्री सतहबाट १,३७२ देखी २,१९१ मीटर उचाईमा रहेको नगरपालिकाको पूर्वमा मण्डन देउपूर नगरपालिका, काभ्रे, पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका,काठमाण्डौँ र मध्यपुर ठिमि नगरपालिका,भक्तपूर, उत्तरमा शंखरापुर नगरपालिका,काठमाडौ र दक्षिणमा सुर्यबिनायक नगरपालिका र भक्तपुर नगरपालिका रहेको छ । नगरपालिकाको जम्मा घरधुरी संख्या २३,४९५ छ भने जनसंख्या महिला ३१,५९४, पुरुष ३२,६२५ र अन्य ४१ जना गरी जम्मा ६४,२६०  रहेको छ । जम्मा क्षेत्रफल ६२.९८ वर्ग कि.मी. रहेको यस नगरपालिका लिच्छवीकालीन धार्मिक, साँस्कृतिक ऐतिहासिक एवं पर्यटकिय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण र विश्व सम्पदा सुचीमा सुचीकृत श्री चाँगुनारायण मन्दिर रहेकोले सो मन्दिरको नामबाट नै नगरपालिका नामाकरण भएको हो । चाँगुनारायण मन्दिरको निर्माण ई.स. ३२३ मा हरिदत्त वर्माले गरेको भन्ने भनाइ छ भने ई.स. ५२१ को अभिलेख अनुसार राजा मानदेवले गरुड ध्वज चढाएको र गुठीका लागि खेत दान गरेको भन्ने अभिलेख रहेको पाइन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर र विश्वभरका पर्यटक आर्कषित गर्ने मनोरम प्राकृतिक छटाले सुशजित पर्यटकीय दृष्टकोणले अत्यन्त महत्वपूर्ण नगरकोट यहाँको अकर्षणयुक्त प्रमुख क्षेत्रको रुपमा रहेको छ । उत्तर तर्फ रहेको सालीनदीवाट सुरु भै पश्चिम तर्फको सिमाना हुँदै वग्ने मनोहरा नदी छिमेकी जिल्ला र नगरपालिकाको सिमाना निर्धारण स्तम्भ मानिन्छ । नगरपालिका भित्र सामुदायिक रुपमा संचालनमा रहेको एक मात्र श्रीकृष्ण बहुमुखी क्याम्पस र संस्थागत रुपमा संचालनमा रहेको नेपाल इन्जिनियरीड्ग  कलेज तथा काठमाडौ मेडिकल कलेज समेत गरी ३ वटा कलेजहरु रहेका छन् । नगरपालिका घोषणा भए पश्चात एकातिर गा.बि.स. को सोचले नगरबासीको अस्तित्व वोध गर्न र नगरवासी भएको अनुभुती गर्न नपाई पर्याप्त श्रोत साधनको अभावमा समस्या झेलीरहेको अवस्थामा मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प र तत्पश्रात बैशाख १३, र २९ गते लगायतका विभिन्न पराकम्पनहरुबाट नगरबासीहरुले ठूलो धनजनको क्षति व्यहोर्नबाट समेत अछुतो रहन सकेनन् । त्यस अवस्थाको क्षति र पिडाको कारणले हालसम्म पनि व्यवस्थित बसोबासको समस्या समाधान उपलब्ध हुन सक्ने राहत रकम, सुविधाहरुको सर्वसुलभ प्राप्तीको लागि नगरपालिकाले समन्वयात्मक भुमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका