चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीद्वारा ‘ चाँगुनारायणसमाचार डटकम’ शुभारम्भ
चाँगुनारायण, १ साउन । चाँगुनारायण नगरपालिकाले आजबाट आफ्नै समाचार पोर्टल अर्थात अनलाइन पत्रिका सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सञ्चालनमा ल्याएको अनलाइन पत्रिका ‘चाँगुनारायणसमाचार डटकम’ ( www.changunarayansamachar.com) को आज नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको हो ।

नगर प्रमुख खत्रीले नगरपालिकाले प्रभावकारी ढंगले गरेका विकासका कार्यहरु, गतिबिधिहरुलाई नगरपालिकाले आफ्नै अनलाइन पत्रिकाबाट प्रकाशित गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजबाट नगरपालिकाले आफ्नै अनलाइन पत्रिका सञ्चालनमा ल्याएको छ, यसमा नगरपालिकाका समग्र गतिबिधि र कामहरुकोबारेमा समाचारका माध्यमबाट आम नगरवासीमा सुसुचित गर्नेछ । नगरपालिकाका दैनिक गतिबिधि, शाखाहरुको कार्यहरु, प्रगति सबै यसै अनलाइनबाट नागरिकसम्म पुर्याउन सबै लाग्नुहोस् ।’

नगरपालिकामा धेरै काम भए पनि केही भएन, केही गरेन भन्ने भाष्य निर्माण भएको बताउदै उहाँले गरेका कामलाई लुकाएर नियोजित रुपमा केही गरेन भनेर फैलाइएको हल्लालाई यसले चिर्ने श्विास व्यक्त गर्नुभयो । उहाँले अहिले सूचना प्रबिधिको युग भएकाले नगरपालिकाले अनलाइन, वेभसाइड, फेसबुक पेजलगायतका सामाजिक सञ्जालबाट नगरपालिकाले गरेको काम र गरेका कामहरुको जानकारी आमनागरिकलाई पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख खत्रीले नगरपालिकाले गरेका कामहरु आमनागरिकसम्म छिटो, छरितो र विश्वसनीय रुपमा पुर्याउने जिम्मेवारी प्रत्येक शाखाको भएको चर्चा गर्दै सोही अनुरुप कार्य सम्पादनमा लाग्न समेत आग्रह गर्नुभयो । नगरपालिका के हो, क कसरी काम गरिरहेको छ के के काम गरिरहेको छ भन्ने शाखागत रुपमा नै जानकारी गराउने माध्यमका रुपमा लैजाने बताउनुभयो । सबै जनप्रतिनिधि र वडावडाले वडामा भएका गतिबिधिहरुलाई समेत यसैमार्फत सार्वजनिक गर्ने र नागरिकसम्म पुर्याउने माध्यमका साथै नागरिक र नगरपालिका बीचको सम्बन्धलाई मजबुद बनाएर लैजान निरन्तर लागिरहने बताउनुभयो ।

केही स–साना कमिकमजोरी भएको छ भने वा केही साधन श्रोत नपुगेर केही काम बाँकी छ भने पनि केही नै भएको छैन भन्ने गरि प्रचार भइरहेकाले यथार्थतामा के काम गरिरहेको छ भन्ने जानकारी गराउने माध्यमका रुपमा समेत लैजान सकिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठले चाँगुरनारायण नगरपालिकाले आफ्नै समाचार पार्टर सञ्चालनमा ल्याउनु उपलब्धीमूलक भएको बताउनु भयो ।
नगरपालिकाका गतिबिधिलाई समाचारका स्वरुपमा लैजान अनलाइन सफल हुने बताउदै उहाँले नगरवासी र सेवाग्राहीलाई नगरपालिकाले गर्ने काम, बिकासका गतिबिधिलाई समग्र रुपमा समाचारका माध्यमबाट पस्कने उहाँले बताउनुभयो ।

सबै शाखादेखि वडासम्मले आफ्ना गतिबिधिलाई सूचना प्रबिधि शाखामार्फत जानकारी गराउने र समाचारका रुपमा प्रस्तुत गर्ने माध्यमका रुपमा अगाडि बढ्नु पर्ने बताउनुभयो । नगपालिकाको सूचना प्रबिधि (आइ.टी.) शाखाका प्रमुख रोशन शिवाकोटीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उहाँले समाचारलाई शसक्त रुपमा नगरपालिकाले सम्प्रेषण गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा सम्पादक रमेश गिरीले चाँगुनारायणसमाचार डट कल सञ्चालनलाई कसरी कसरी प्रभावकारी बनाउने भन्नेबारेमा चर्चा गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्