‘चाँगुनारायण नगर कप फुटबल’ प्रतियोगिता नगर प्रमुख खत्रीबाट उद्घाटन, पहिलो खेल बराबरी
चाँगुनारायण, २२ असोज । चाँगुनारायण नगरपालिका नगरकोट–६ स्थित माउण्ट एभरेष्ट खेल मैदानमा आज बुधबारदेखि सुरु भएको ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिता सुरु भएको छ ।
नागरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको सहयोग एवं नगर खेलकुद विकास समितिको समन्वय र सहकार्यमा माउण्ट एभरेष्ट युथ क्लब नगरकोटले आयोजना गरेको प्रतियोगिताको नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भयो ।
खेलाडीहरुलाई प्रोत्साहन गरि बल हस्तान्तरण गर्दै नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाका खेलाडीले देश र विदेशमा उत्कृष्ठ खेल प्रर्दशन गर्न सक्ने गरि खेल र खेलाडीको बिकास गर्ने बताउदै यस प्रकारको प्रतियोगिताले खेलाडीलाई खेलप्रति उत्साह जाग्ने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “यो प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु । दशैं, तिहार र छठ पवएको समेत खेलाडी लगायत सबैलाई शुभकामना व्यक्त गर्दछु । साथै यस प्रतियागिताबाट उत्कृष्ठ खेलाडी छनौट गरि विशेष तालिम सञ्चालन गरि नगरपालिकाको फुटबलको खेलकुद टिम नै तयार पर्नेछौं । त्यसपछि आगामी वर्षदेखि सि डिभिजनका खेलका लागि तयारी गर्नेछौं ।”
प्रतियोगितामा सिनियर तर्फ प्रथम हुन टिमलाई नगद रु. एक लाख १५ हजार १०१ सहित प्रमाण पत्र, दोश्रो हुनेलाई ६६ हजार ६६६ रुपैया, प्रमाण पत्र, तेश्रो हुनेलाई रु. ३३ हजार ३३३ र प्रमाण पत्र प्रदान गर्ने नगरपालिकाका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । त्यसैगरि जुनियरतर्फ प्रथम हुनेलाई रु. २० हजार, दोश्रो हुनेलाई रु. १० हजार र तेश्रो हुनेलाई रु. पाँच हजारसहित प्रमाणपत्र प्रदान गर्ने उहाँले जानकारी सदनुभयो ।
प्रतियोगितामा नगरपालिकाको “कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार” भन्ने नारासहित नगरपालिका क्षेत्र भित्र खेलकुदको विकास गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यलका साथ नगरपालिकाले खेलकुदका बिभिन्न प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएकोमा भ्रमण वर्षको अवसर पारेर चाँगुनारायण नर कपको आयोजना गरेको हो ।
प्रतियोगितामा १२ वटा सिनियर टिम र ७ वटा जुनियर टिमको सहभागिता भएको नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो । कात्तिक २ गते सम्पन्न हुने प्रतियोगिताको आज पहिलो खेल चाँगुनारायण ६ (ए) र चाँगुनाायण ७ (बि) बीच भएको खेल बराबरीमा टुङ्गिएको छ । भोलीदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्