घरघरमा खानेपानीको पहुँच पुर्याउन खानेपानी उपभोक्ता समितिहरु सक्रिय हुनुपर्छ : नगर प्रमुख जीवन खत्री
खरीपाटी (भक्तपुर), ९ जेठ । चाँगुनारायण नगरपालिकाका प्रमुख नगर प्रमुख जीवन खत्रीले नगरवासीलाई सहज रुपमा घरघरमा खानेपानीको पहुँच पुर्याउन खानेपानी उपभोक्ता समितिहरु सक्रिय हुनुपर्ने बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखाको आयोजना र दियालो टेकनोलोजीको समन्वयमा शुक्रबार भएको ‘खानेपानी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले चाँगुनारायण नगरपालिका क्षेत्र भित्र ७८ वटा मूलको र ५० वटा डिप बोरिङबाट खानेपानी वितरण भइरहेको बताउदै घरघरमा खानेपानी पुर्याउन नगरपालिका लागिरहेको बताउनुभयो ।
नगरबासीलाई सहज रुपमा खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाको बिभिन्न आयोजनालाई साकार पार्न सबै उपभोक्ता समितिहरु आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने औल्याउदै उहाँले नगरभित्र १०० भन्दा बढी खानेपानी उपभोक्ता समितिहरु दर्ता भए पनि आधाले पनि नवीकरण नगर्नु बिडम्बना भएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले उपभोक्ता समितिहरुले कानूनी प्रक्रिया पूर्याएर नविकरणलगायतका कार्य गरेमात्र राज्यले उपलब्ध गराउने सेवा सुविधा पाइने चर्चा गर्दै उहाँले उपभाुक्ता समितिहरुले यसतर्फ ध्यान दिएर सचेत र जागरुक भई काम गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला सञ्चालनमा ल्याएकाले बताउनुभयो ।
भक्तपुर जिल्लामा रहेको चार नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका भएको बताउदै उहाँले नगरपालिका कार्यालयमा रहेको प्रयोगशाला राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार रहेकाले आफूले पिउने पानी परीक्षण गरेर पिउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले नगरभित्र रहेका खानेपानी उपभोक्ता समिति लगायतका संस्थाहरुलाई प्रविधिसँग जोडेर व्यबस्थापन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले जनतालाई पर्याप्त पानी उपलब्ध गराउन नसकेको बताउनुभयो ।
दियालोको तर्फबाट सिईओ पिआर खनाल, बजार अधिकृत रोशन गौतमले खानेपानी संस्थाहरुमा प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुतीकरण राख्दै त्यसलाई अनुशरण गर्नु पर्ने औल्याउनुभयो । वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले संचालन गर्नु कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामा, कार्यपालिका सदस्य कमला गिरीलगायत बिभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्