चाँगुनारायण नगरपालिकाले प्राबिधिक तर्फका दुई विषय अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्रदान गर्ने, नगरपालिका र महाविद्यालयबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर
चाँगुनारायण (खरिपाटी), २२ साउन । चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीलाई डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ विषयमा अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराउने भएको छ ।
खरिपाटीस्थित नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयमा आफ्ना विद्यार्थीलाई यसै आर्थिक वर्षदेखि छात्रबृत्तिमा अध्ययन गराउन चाँगुनारनायण नगरपालिका र महाविद्यालयबीच आज बिहिबार नगरपालिका आयोजित कार्यक्रममा सातबँदे समझदारीपत्रमा दुबै पक्षले हस्ताक्षर गरेको हो ।
समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डंगोलले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिनुभयो ।
दुबैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रमका लागि छनोट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने भएको छभने ५० प्रतिशत शुल्क महाविद्यालयले व्यहोर्ने गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने छ ।
नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति समेत भएको जानकारी दिदै नगर प्रमुख खत्रीले थप कोटामा नगरवासीका थप नागरिकले अध्धयन गर्न पाउँने बताउनुभयो ।
महाविद्यालयले भर्नाका लागि आवेदन खुल्ला गरेपछि नगरपालिका आफैले सूचना प्रकाशित गरि छात्रबृत्तिका लागि आवेदन खुल्ला गर्ने र अध्ययनका लागि चार जना विद्यार्थीलाई छात्रवृत्तिको लागि छनोट गरी पठाउने व्यबस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
तस्विर : चाँगुनारायण नगरपालिका सचिवालय
प्रतिक्रिया दिनुहोस्