गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राण प्रतिष्ठानका लागि दोश्रो दिन हवन सम्पन्न
चाँगुनारायण (छालिङ्ग), ३० साउन । चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राण प्रतिष्ठान पूजनको आज दोश्रो दिन संकल्प पूजा, होम एवं हवन पूजा सम्पन्न भएको छ ।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर नेपालमै पहिलो पटक स्थापना गरिएको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा कार्यका लागि वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खडेकालगायतले पूजा, होम, हवन एवं प्राणप्रतिष्ठा कार्यमा सहभागि हुनु भएको छ ।

चाँगुनारायण नगरपालिकाको सहकार्य एवं चाँगुनारायण वडा नं. ५ कार्यालय, श्री मच्छेनारायण, श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आयोजना भइरहेको उक्त धार्मिक अनुष्ठानमा तीनदिनको पुजा एवं प्राणप्रतिष्ठा सम्पन्न गरि श्रीकृष्ण जन्माष्टमीका दिन ३१ गते भोली शनिवार प्राणप्रतिष्ठा पुजा सम्पन्न गरि विशाल मूर्तिको अनावरण गरिने वडाध्यष खड्काले जानकारी दिनुभयो ।

वडाध्यक्ष जयन्द्र खड्काले भन्नुभयो, “तीन दिनसम्म तान्त्रिक बिधि पूर्वक पूजा, होम एवं हवन गरिएको छ । आज दोश्रा दिन पनि पुजा सम्पन्न भएको छ । ३१ गते शनिवार श्रीकृष्ण जन्माष्टमीको दिन सात जना ब्राम्हणबाट प्राणप्रतिष्ठा हुनेछ । त्यसैदिन पूजा सम्पन्न गरेसंगै वागमति प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा श्रीश्री १००० श्री महामंडलेश्वर सरिता गिरी, भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद दूर्लभ थापा, नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीबाट विशाल श्रीकृष्ण विराट स्वरुप श्रीमूर्तिको अनावरण गर्नेछौ ।”

उहाँले भारतमा मात्र रहेको यस प्रकारको मूर्ति र तीर्थस्थल नेपालमा अन्यत्र नरहेको बताउदै नेपालमै पहिलो पटक स्थापना गरिएको यस मूर्तिले यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई अझै उचाईमा पुर्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्