Breaking News
चर्चामा:

नेपालमै पहिलो श्रीकृष्णको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा

नेपालमै पहिलो श्रीकृष्णको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा

नेपालमै पहिलो श्रीकृष्णको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा
 चाँगुनारायण (छालिङ्ग), ३१ साउन । नेपालमै पहिलो पटक स्थापना गरिएको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको आज प्राण प्रतिष्ठा गरिएको छ ।   चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्राम रहेको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको आज शुभसाईतमा पूजा, हवन एवं प्राणप्रतिष्ठा गरिएको वडाध्यक्ष जयन्द्र खड्काले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाको सहकार्य एवं चाँगुनारायण वडा नं. ५ कार्यालय, श्री मच्छेनारायण, श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको उक्त धार्मिक अनुष्ठानमा सात जना ब्राम्हणले यही २९ गतेदेखि तीनदिनसम्म बिभिन्न पुजा, हवन गरि आज प्राणप्रतिष्ठा गरिएको हो ।
वडाध्यक्ष खड्काले भन्नुभयो, “तीन दिनसम्म तान्त्रिक बिधि पूर्वक पूजा, होम एवं हवन सम्पन्न गरिएको छ । आज शनिवार श्रीकृण जन्माष्टमीको दिन सात जना ब्राम्हणबाट प्राणप्रतिष्ठा भएको छ । आजैबाट विशाल श्रीकृष्ण विराट स्वरुप श्रीमूर्तिको अनावरण गरि आजभक्तजनको दर्शनको लागि खुल्ला भएको छ ।”
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले चाँगुनारायण नगरपालिका क्षेत्रको धार्मिक पर्यटनको बिकासमा टेवा पुर्याउने नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।
उहाँले भ्रमण वर्षकै अवसर पारेर ऐतिहासिक भूमिमा अर्को एउटा विशाल मूर्ति स्थापना गरेर ओझेलमा परेको यहाँको धार्मिक सम्पदा र पहिचानलाई हिन्दुधर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थल र अन्यका लागि पर्यटकीय आकर्षण हुने बताउनुभयो ।
स्थानीय गोकर्ण पुरीले आफूले भारत भ्रमणका क्रममा देखेको यस प्रकारको श्रीकृष्णको विशाल मूर्ति नेपालमा पहिलो पटक स्थापना गरेर यस क्षेत्रको ऐतिहासिक, धार्मिक महत्वलाई अझै उचाईमा पुर्याएको बताउनुभयो । उहाँले २५ हजार ७७७ किलोग्राम रहेको यो मूर्ति एउटै ढुङ्गाबाट निर्माण गरिएका बताउदै हिन्दु धर्मावलम्बीहरुका लागि यो पवित्र तीर्थस्थल हुने बताउनुभयो ।
यस क्षेत्रमा ४१२ वर्ष अगाडि अर्थात १६६९ मा स्थापना भएको मच्छेनारायण एवं श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर परिसरमै श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको निर्माण गरिएको हो । यस मूर्तिमा बिभिन्न देवीदेवताका मूर्तिहरुसंगै रहेका छन् भने महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनलाई रथमा बसेर उपदेश दिईरहदाँको क्षणलाई मूर्तिमा उतारिएको छ ।
चाँगुनारायण नगरपालिका, प्रदेश सरकारलगायत बिभिन्न सरकारी निकायको बजेटबाट यस मन्दिर परिसरमा हनुमान, रामसीता, पलाञ्चोक भगवती, सरस्वती, मोक्ष विनायक गणेश, सप्तऋषि, ६४ शिवलिङ्ग, मल्लकालिन शैलीको पाटीलगायतका बिभिन्न संरचनाहरु यसअघि निर्माण भएको स्थानीय शिवराम पुरीले जानकारी दिनुभयो ।
यस मन्दिर परिसरमा कुण्डसहितको मच्छेनारायण मन्दिर, श्रीकृष्णवर्तश्वर महादेव मन्दिर, त्रिवेणीको रुपमा समेत परिचित यस मन्दिरमा परुषोत्तम महिना, धान्यपूर्णिमा र कृष्ण जन्माष्टीमामा मेला लाग्दै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका