नगर प्रमुख जीवन खत्रीद्धारा ३७ औँ. श्रीमद् भागवत कथा ज्ञान महापुराण उद्घाटन
चाँगुनारायण (वागेश्वरी), ४ भदौ । चाँगनारायण नगरपालिका ७ र ८ को संगमस्थलमा रहेको मणिकर्णिकाधाममा आजबाट ३७ औँ. श्रीमद् भागवत कथा ज्ञान महापुराण सुरु भएको छ ।
श्री रामायण भजन मण्डल तथा मणिकर्णिका घाट सुधार सघले संयुक्त रुपमा आयोजना गरेको महापुराणको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो ।
उहाँले चाँगुनारायणलाई आफैमा धार्मिक र पूण्यभूमि रहेको चर्चा गर्दै यो पूण्यभूमिलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।
नगरकोट भ्रमण वर्ष–२०८२ लाई सफल पार्न र सिंगोचाँगुनारायण नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्दै यहाँको आर्थिक उन्नतीमा फड्को मार्न सबै समान रुपमा लाग्नु पर्ने बताउनुभयो ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर आयोजना गरिएको महापुराण भदौ ५ गते ऋषि पञ्चमीको दिन सम्पन्न हुने महापुराण आयोजक समितिका रघु केसीले जानकारी दिनुभयो । विश्व शान्ति, राष्ट्र शान्ति र दिवंगत हुनु भएका आत्माहरुको मोक्ष प्राप्तिको कामना गर्दै अक्षयकोष बृद्धि गर्ने मूल लक्ष्यका साथ महापुराणको आयोजना गरिएको केसीले जानकारी दिनुभयो ।
महापुराणमा प्रमुख वाचक प. आचार्य विमल भट्टराई र उपवाचकमा प. रामचन्द्र अधिकारीले कथा प्रवचन दिनु भएको कार्यक्रम सञ्चालक यादव अधिकारीले बताउनुभयो ।
महापुराणमा प्रत्येक दिन विहान ५ बजेदेखि रुद्री, चण्डी, हवन, पाठपारायण हुने, प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कथा प्रवचन र प्रत्येक दिन बेलुका ६ बजेदेखि भजन किर्तन रहको छ ।
रमेश के.सीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा संरक्षक नागा बाबा कल्याण पुरी महाराज, वडा नं.७ का अध्यक्ष श्यामकृष्ण नयाजू श्रेष्ठ, सदस्यहरु पुष्कर खड्का, श्यामकाजी नायज, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रोशन थापा, लगायत सयौँ स्थानीयको सहभागिता रहेको थियो । महापुराणमा सहभागि हुन सबैमा आव्हान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्