स्वीस रेडक्रसकी स्वास्थ्य बुढ्यौली सल्लाहकारद्वारा चाँगुनारायण नगरपालिका भ्रमण
१५ मंसिर २०८२
खरिपाटी, भक्तपुर ।
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना का गतिविधिहरुको जानकारी लिने उद्देश्यले स्वीस रेडक्रसका स्वास्थ्य बुढ्यौली विभागकी सल्लाहकार एलेक्जेन्द्रा पापिजले चाँगुनारायण नगरपालिका भ्रमण गर्नुभएको छ। स्वीस रेडक्रसकी पाहुनालाई चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, उप-प्रमुख रमेश बुढाथोकी तथा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले नगरपालिकामा स्वागत गर्नुभएको थियो।
भ्रमणका क्रममा नगरपालिकाका पदाधिकारीहरूले परियोजनाले स्थानीय ज्येष्ठ नागरिकमा पुर्याएको प्रभाव, हालसम्मका उपलब्धि, चुनौती तथा आगामी कदमहरूबारे विस्तृत रूपमा जानकारी गराए। नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकमैत्री सेवा, स्वास्थ्य सहजीकरण, सामुदायिक पहुँच विस्तार तथा दीगो कार्यक्रम सञ्चालनका लागि आवश्यक समन्वय र सहयोगका विषयमा छलफलसमेत गरिएको थियो।
स्वीस प्रतिनिधि पापिजले परियोजना स्थलमा पुगेका स्थानीय लाभार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै परियोजनाको प्रभावकारिता र आवश्यक सुधारका क्षेत्रहरूबारे संकेतमहत्वपूर्ण सुझावहरू प्रदान गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकका लागि नगरपालिका र स्थानीय संस्थाहरूबीच देखिएको समन्वयलाई प्रशंसनीय बताउँदै आगामी दिनमा अझ संगठित रूपमा कार्य अघि बढाउन प्रोत्साहन गर्नुभएको थियो।



छलफलको अन्त्यमा नगरपालिकाले स्वीस रेडक्रस टोलीलाई धन्यवाद ज्ञापन गर्दै सहकार्यका कार्यक्रमहरूलाई थप परिणाममुखी र दीगो बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको थियो।
प्रतिक्रिया दिनुहोस्