वर्षाले भक्तपुरमा सबैभन्दा बढी चाँगुनारायण नगरपालिका भित्र क्षति
चाँगनारायण, १९ असोज । गत शुक्रबारदेखि परेको अविरल वर्षाले चाँगुनारायणको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ । नगरको विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएका छन् ।
वर्षाले भक्तपुरमा सबैभन्दा बढी क्षति चाँगुनारायण नगरपालिकाभित्र गरेको छ । चाँगुनारायण–६, कमलविनायक–खरिपाटी–नगरकोट सडकखण्डमा मुहान पोखरी, तेलकोट, बास्तोला गाउँलगायतको ठाउँहरुमा सडकको भित्ताहरुमा स–साना पहिरो खसेको र बास्तोला गाउँको पहिरो स्काभेटरको सहायतले पन्छाएर सडक खुलाइएको छ ।
यस्तै चाँगुनारायण –९ र सूर्यविनायक–१० को सिमानामा पर्ने च्याम्हासिंह–ताथली–नाला सडक खण्डमा पनि नाला गुम्बामुनि सडकको भित्ताहरुमा स–साना पहिरो खसेको छ, तर सडक भने अवरुद्ध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चाँगुनारायण–८ चरेली, विन्दवासिनीस्थित कमलविनायकदेखि कलमसी जाने मुख्य सडकमा शनिबार साँझ ५ः०० बजे पहिरो गएको छ ।यातायात सेवा भने एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ । चाँगुनारायण –६ बास्तोला गाउँमा रहेकोको सुमन बास्तोलाको घर अगाडि पहिरो गएकोमा नगरपालिकाले त्रिपाल र प्लास्टिक ओढाएर जोखिम न्यूनीकरण गरेको जनाइएको छ ।
चाँगुनारायण–७, बागेश्वरीस्थित हेल्थपोष्ट नजिकको सडकको छेउपट्टी भाग भाँसिएकोले प्लास्टिक राखेर जोखिम न्यूनीकरण गरिएको छ । चाँगुनारायण–६, तेलकोटमा रहेकोको कमला लामिछानेकोको घर अगाडि पहिरो गएको छ, तर क्षति भने भएको छैन ।
चाँगुनारायण –१, चाँगुनारायण माविबाट नेक कलेज हुँदै मूलपानी निस्कने ढलान सडकको छेउ भागमा प्वाल परेकोले वैकल्पिक मार्गको रुपमा खड्का डिल हुँदै बेसिबाट नेक कलेज मूलपानी जान सकिने व्यवस्था गरिएको छ । चाँगुनारायण ७ र ८ वडा हुँदै बग्ने घट्टे खोला र मूल साँघुखोलाको बहावले गर्दा यसको आसपासमा रहेका धान बालीहरु डुबानमा परेको छ ।
आज दिनभरि विपद व्यवस्थापन प्रयास जारी राखेको छ । नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी वडा नं. ४ का वडाध्यक्षको समन्वय र सहकार्य गरी हेभी इक्वीपमेन्ट प्रयोग गरि प्रयास जारी राखेको छ । चाँगुनारायण ४ पोखरेल गाउँ मा खानेपानीको फिल्टर र पम्प धरापमा परेको छ । यसको सुरक्षाको प्रयास भइरहेको छ ।
चाँगुनारायण नगरपालिकाले विपद्मा उद्धारका लागि स्वयं सेवकदखि नगर प्रहरीसमेत परिचालन गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । पहिरो नियन्त्रणका लागि र उद्धारका लागि प्रयास जारी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्