भक्तपुर सहकारी संघद्वारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड परिमार्जनको माग
काठमाडौं, वैशाख ५, २०८२ – भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डले सहकारी अभियानलाई कमजोर र धरासायी बनाउने भन्दै तत्काल परिमार्जन गर्नुपर्ने माग गरेका छन्।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको ‘सहकारीमा पूँजी कोष पर्याप्तता र पल्र्स अनुगमन प्रणाली तालिम’ समापन समारोहमा बोल्दै अध्यक्ष लाखाजुले सहकारी ऐनअनुसार बचत स्वीकार्ने र ऋण लगानी गर्ने कार्य भइरहेको बताए। उनले बैंक तथा वित्तीय संस्थालाई पोषण गर्ने उद्देश्यले सहकारीको वृद्धि र विकासमा संकुचन हुने गरी मापदण्ड जारी भएको आरोप लगाए। तरलता सम्बन्धी व्यवस्थालगायतका विषय तत्काल सच्याउनुपर्ने र नसच्याए कानुनी उपचारमा जाने उनको भनाइ थियो।
लाखाजुले सहकारीका सदस्यको बचत सुरक्षा र जोखिम न्यूनीकरणका लागि कर्मचारीहरूले नयाँ ज्ञान र सीप सिक्न जागरुक हुनुपर्नेमा जोड दिए।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले वित्तीय कारोबार गरेकै आधारमा सहकारीलाई बैंकको संज्ञा दिनु गलत भएको बताए। उनले बचत तथा ऋण कारोबारको सीमाका आधारमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंकबाट बैंकिङ इजाजत लिने व्यवस्था गर्नुपर्ने सुझाए। सहकारीका समस्याको समाधान केवल निर्देशन र मापदण्डले मात्र नहुने भन्दै उनले व्यवहारिक र प्रगतिशील कानुनको आवश्यकता औंल्याए।
कार्यक्रममा नेफस्कूनका प्रार्चाय बल्लभ तिमल्सिनाले पूँजी कोष पर्याप्तताबारे र प्रशिक्षक उमेश कोईरालाले पल्र्स अनुगमन प्रणालीबारे प्रशिक्षण प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्