असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्य : काँग्रेस नेतृ आरजु देउवा राणा
भक्तपुर, १५ असार : नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका विउ लगाएर उत्पादकत्व बढाउनुपर्ने बताउनु भएको छ ।
२१ औं राष्ट्रिय धान दिवसको अवसरमा आज नेपाल किसान संघ भक्तपुरले आयोजना गरेको राष्ट्रिय धान दिवस कार्यक्रम बोल्दै उहाँले कृषि उत्पादकत्व बढाएर देशमा आत्मनिर्भर बनाउनु पर्ने बताउनु भएको हो ।
उहाँले रोपाईको मध्य बेला आउँदा पनि किसानले अझै पर्याप्त मल नपाउनु दुःखको कुरा भएको बताउदै उहाँले हरेक वर्ष असार आएपछि मल अभाव किसानले खेप्नु दुर्भाग्य भएको बताउनुभयो ।
नेतृ देउवाले भन्नुभयो, “नेपालमा खेती योग्य जमिन बाँझो हुन थालेको छ, बाँझो खेती योग्य जमिनलाई उपयोगमा ल्याउन नीति बनाउनु आवश्यक छ । किसानले अझ पनि समयमा मल नपाउनुमा सरकारको दोष हो । नेपालमा भित्रिएका मललाई सहकारी मार्फत वितरण भएपनि राम्रोसँग वितरण हुन नसकेकाले त्यसको उचित व्यवस्थपन गरि वितरण गर्नु आवश्यक छ ।”
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र नेपाली काँग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दूर्लभ थापाले मल र गुणस्तरीय बिउँ ल्याएर स्वदेशी उत्पादन बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं संघका अध्यक्ष इन्द्र प्रजापतिले असार १५ मा दिवस मनाएर मात्रै नभई धान उत्पादनलाई आत्मनिर्भर बनाउने गरि राज्यले नीति लिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्