चाँगुनारायण मन्दिरमा देशको सन्देश बोकेको गीतको शुभमूहुर्त सम्पन्न
भक्तपुर, १७ भदौ । ऐतिहासिक चाँगुनारायण मन्दिरको प्राङ्गनमा देशको सम्पदादेखि वातावरणको संरक्षण गर्ने सन्देश बोकेको गीतको आज शुभमुहुर्त गरिएको छ ।
‘हामी उभिएको धरातलमा, आज साहसिलो पाइला सारौ
सफा सुग्घर वातावरणको, एक चरसिलो आयाम कोरौं’

बोलको १० वर्ष अगाडि निकै चर्चामा रहेको गीतको रिमिक्स म्युजिक भिडियो निर्माण गर्न आज मन्दिर प्राङ्गनमा प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले नरिवल फुटाएर गीतको शुभ मुहुर्त गर्नु भएको हो । उक्त गीतलाई ग्रेटर नेपालले रिमिक्स गरि अहिलेको परिवेश अनुसार सम्पदादेखि शहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरुपमा छायांकन गरि म्युजिक भिडियो निर्माणको सुरु गरेको हो ।

कार्यक्रममा सांसद थापाले देशमा केही भएको छैन भन्नेहरुले यो गीतको पुरानो दृश्य र अब बन्ने दृश्य हेरे पुग्ने बताउदै देशमा लोकतन्त्र आएपछि धेरै विकास भएको बताउनु भयो । सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रुपमा लैजानु पर्ने उहाँले बताउनुभयो ।

सांसद थापाले भन्नुभयो, “अमेरिका पत्ता लाग्नु अगाडि नै नेपालका धेरै मठ मन्दिर र सम्पदाहरु बनिसकेको थियो । नेपालबाट दास प्रथाका उन्मुलन भयो तर नेपालमा केही भएन भन्दै अमेरिकादेखि अष्ट्रेलियासम्म पढ्ने बाहनामा जाने नेपाली युवा पुस्तामा दास मनोबृत्ति रहेको छ, त्यसको अन्त्य गर्दै नेपालमै डाक्टर, इन्जिनियरलगायत सबै विषय पढ्न पाइन्छ, नेपालमै बस्नु पर्छ भन्ने सन्देश फैलाउनु जरुरी छ ।”

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ऐतिहासिक सम्पदालाई नगरकोट भ्रमण वर्षको अवसरमा विश्वभर प्रचारमा लानु पर्ने बताउनुभयो । उहाँले स्थानीयवासी, जनप्रतिनिधि सबै नागरिक मिलेर चाँगुनारायणको विकास, सम्बृद्धि र पर्यटकको आगमन बाउन लाग्नु पर्ने औल्याउनुभयो ।

उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेका छौँ. राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा यहाँको सम्पदाको प्रचार पुर्याउन जरुरी छ । यहाँको धार्मिक, साँस्कृतिक, प्राकृतिक उत्कृष्ठताको गन्तव्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको छ ।”

नेपाल आउने पर्यटक एक पटक मात्रै भएपनि चाँगुनारायण आएर दर्शन गर्ने, अवलोकन गर्ने अबस्थाको सृजना गराउन नगरपालिका लागिरहेको बताउदै उहाँले नगरकोट भ्रमण वर्षमा परिवारसहित भ्रमणमा आउँन कलाकार, पत्रकार, राजनीतिज्ञ, पर्यटक सबैमा उहाँले आव्हान गर्नुभयो ।

कार्यक्रममा वागमती प्रदेका पूर्व भौतिक पुर्वाधार मन्त्री एवं काँग्रेस नेता कृष्णलाल भँडेल र चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले मन्दिरको उत्पत्तिदेखीको ऐतिहासिक पक्षबारे चर्चा गर्नु भएको थियो । कार्यक्रममा चाँगुनारायण पर्यटन शाखाका प्रमुख एवं नगरकोट भ्रमण वर्षका सचिवालयका संयोजक गोकूल कार्कीले नगरकोट भ्रमण वर्षको महत्वमाथि चर्चा गर्नुभएको थियो ।

निर्देशक सुचित्रा श्रेष्ठको निर्देशन रहने यो गीतको शुभमूर्हुतमा संगीतकार सुनिल उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रबिन महर्जन, कलाकार रश्मि भट्टलगायत चर्चित कलाकारहरुको सहभागिताको साथै अभियान रहने भएको छ । गीत निमाणका लागि चाँगुनारायण, मध्यपुरथिमि, कागेश्वरी मनोहरा, दक्षिणकालीलगायका उपत्यकाका ६ वटा नगरपालिकाको सहयोगमा म्युजिक भिडियो निर्माण सम्पन्न गरिने भएको छ ।

करिब १० वर्ष अगाडि सुनिल उप्रेतीको संगीत, निरामिषको शब्द, संजय श्रेष्ठ, रत्न सुवेदी, उमा गुरुङ्ग, सन्नी रौनियार प्रविण मानन्धर, राजकुमार जोशीलगायतको स्वर र रोशनप्रताप राणाको निर्देशनमा कोरस नृत्य रहेको यस गीतको म्युजिक भिडियो चर्चामा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्