चाँगुनारायण मेलाको तयारी पुरा, झलमल्ल बन्यो चाँगुनारायण मन्दिर
भक्तपुर, १४ कात्तिक : ऐतिहासिक एवं विश्व सम्पदासूचीँमा रहेको चाँगुनारायण मन्दिर आज साँझबाट झलमल्ल बनेको छ । चाँगुनारायण नगरपालिकाले यसवर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमना बृद्धि गर्न नगरपालिकाले यसवर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
मन्दिरमा सयपत्री फूलको मालहरुले सिंगारिएर रौनक नै बदलिएको छ भने रातीको प्रहरमा पनि मन्दिरमा चारैतर्फ बत्तिसंगै तिहार झलझलमल्ल बन्दा यहाँ शनिवार लाग्ने मेलाको रौनक रातीदेखिनै आकर्षक देखिएको छ ।

मन्दिर आउने नाकाहरु र चोकचोकमा स्वागतद्धारले सिंगारिएको छ । हरिबोधनी एकादशीका दिन लाग्ने चाँगुनारायण मेलाको तयारी पुरा गर्दै मन्दिर झलमल्ल बन्दा स्थानीयसमेत दग छन् । चाँगुनारायण नगरपालिकाले मेलाको व्यबस्थापनको जिम्मेवारी निर्वाह गर्दै मेलाको सम्पूर्ण तयारी पुरा गरेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मन्दिर प्रवेश गर्ने सिढीँहरु, मन्दिर परिसर र आसपासका क्षेत्रहरु सफा गरेका छौँ, मन्दिर सिंगारिएर झकमक्क बनाएका छौँ, साँझ झलमल्ल बत्तिहरु बालेर मन्दिर चारैतिरबाट उज्यालो बनाएका छौँ, मन्दिर प्रवेश गर्ने नाका र चाँगुनारायण प्रवेश गर्ने नाकाहरुमा स्वागतद्धार बनएका छौँ । मन्दिरमा सहज दर्शनका लागि स्वयेंवक परिचालनदेखि स्वास्थ्य शिविरको समेत व्यबस्था गरेका छौ ।”
बिहान दुई, तीन बजेदेखिनै मन्दिरमा दर्शनार्थीको आगमन हुने बताउदै उहाँले त्यसलाई मध्यनजर गर्दै नगरपालिकाको व्यबस्थापनमा लाइन व्यबस्थित गर्न डोरी टाँग्ने, झिलिमिलि बत्तिहरु हालेर बाल्ने, सुरक्षाका लागि स्वयंसेवक र जनपद तथा नगर प्रहरी परिचालन गर्ने व्यबस्था गरेको जानकारी दिनुभयो ।
नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालय सदस्य मिरा तिमिल्सिनाले मेलाको सम्पूर्ण तयारी पुरा गरेको जानकारी दिर्दै शनिवार बिहानैदेखि दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने व्यबस्था मिलाईएको बताउनुभयो ।
मन्दिर आउँने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा, र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौं मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरि सडकको व्यबस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापन समेत गरिएको उहाँले बताउनुभयो ।

चारनारायण मध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चारवटै नारायणको प्रतिमूर्तिको रुपमा पुजिदै आएको चाँगुनारायण मन्दिरमा बिहान २ बजेदेखिनै मेला लाग्ने र बिहान चारबजेदेखि दर्शनार्थीको भीड लाग्ने मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हरिशयनी एकादशीकाृ दिन बिश्राम लिएर सुत्नु भएको नारायण हरिबोधिनी एकादशीको दिन जागा रहने विश्वास छ । यसदिन भगवाण नारायणको पुजा एवं दर्शन गर्दा जागा रहेको नारायणको आशिर्वाद प्राप्न हने जनविश्वास रहेको छ ।”
आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएको भगवाण विष्णु यसैदिन जागा हुनुहुने भएकाले यसदिनलाई हरिबोधनी एकादशीको रुपमा विशेष पूजा अर्चना गरेर मनाईने पुजारी राजोपाध्यायको भनाई छ ।
हरिबोधिनी एकादशीको दिन भक्तपुरको चाँगुनारायण, काठमाण्डौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शंन गर्ने गरिन्छ । चारनारायणको दर्शन गर्न नसक्नेहरुले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि चार नारायण दर्शन गरेबराबरको पुण्य प्राप्ति हुने जनविश्वास रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्