नगरकोट भ्रमण वर्ष-२०८२ : सगरमाथादेखि दश हिमाल, सूर्योदयदेखि सूर्यास्तसम्म नियाल्न नगरकोटमा पर्यटकको आगमन
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायणदेखि नगरकोटसम्म हाम्रो पालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो, त्यसैले नगरपालिकाले निर्णय गरेर हामीले नगरकोट सडक टेण्डर गरेर तिब्र गतिमा सडक निर्माण सम्पन्न गरायौ, यहाँको पर्यटन व्यवसायको विकास र प्रचारप्रसारका लागि नगरकोट भ्रमण वर्षको सुरुवात गरेका छौँ, पर्यटकको आगमनले व्यवसायी उत्साहित हुनुहुन्छ ।”
==================================
भक्तपुर, १ मङ्सिर : बिहानीको सूर्योदय । पहेलिदै र रातोहुँदै पारी आकाशमा बिस्तारै सूर्यको आकारदेखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । अचेल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् यी ।
सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाली चुचुरो सगरमाथादेखि बिभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रबिन्दु नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको केन्द्र बनेको छ । नगरकोटसंगै विश्व सम्पदा सूचीँमा रहेको चाँगुनारयण मन्दिरसम्मको पर्यटनलाई विश्वभर चिनाउने उदेश्यले चाँगुनारायण नगरपालिकाले गत बैशाख १ गतेदेखि आगामी चैत मसान्तसम्मका लागि आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले पर्यटकलाई थप आकर्षित बनाएको छ ।

पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म निर्माण कम्पनीले अलपत्र पारेपछि करिब १७ करोडको लागतमा चाँगुनारायण नगरपालिकाले सडक कालोपत्र गरेसंगै नगरकोट जान निकै सहज मात्रै भएको छैन, पर्यटकहरुको आगमनलाई समेत बढाएको स्वयं पर्यटन व्यवसायी बताउछन् ।
नगरकोट बसपार्कसंगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछाने ११ वर्षदेखि सुस्ताएको पर्यटन व्यबसाय सडक कालोपत्र गर्दा अहिले फस्टाएको बताउनुहुन्छ । नगरकोटको पर्यटन व्यवसाय सडककै कारणले निकै सुस्ताएको थियो, ११ वर्षसम्म एउटा ठेकेदारले सडक मात्रै अलपत्र पारेन, ंिसंगो पर्यटन व्यवसाय नोक्सानमा पारेको गुनासो पर्यटन व्यवसायीको छ ।
व्यवसायी लामिछाने भन्नुहुन्छ, “सडककै कारणले नगरकोट आउने पर्यटक निकै घटेका थिए, जसका कारण व्यवसायीले निकै मार खेप्नु पर्यो तर अहिले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरुगरेसंगै नगरपालिकाका प्रमुख जीवन खत्रीको नेतृत्वमा नगरपालिकाले सडक कालोपत्र गराएपछि पर्यटकको आगमन ह्वात्तै बढेको छ, यहाँका व्यवसायीमा अहिले निकै उत्साह थपिएको छ ।”

नगरकोटमै रहेको होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्रि माकले पर्यटकको आगमनले व्यबसायमा लगानी थप गर्न आँट आएको बताउनुहुन्छ । २०७२ को भूकम्पले भत्किएको होटललाई नयाँ स्वरुपमा निर्माण गरेर व्यवसायमा लगानी बढाएको बताउदै उहाँले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ्ग नगरे ठाउँ पाउन मुश्किल पर्ने बताउनुहुन्छ ।
नगरकोटका होटलदेखि डाँडाहरुबाट देखिने सूर्योदय, सूर्यास्त, सगरमाथा र हिमाली दृश्यहरुले पर्यटकको मन आनन्दित बनाउने बताउदै उहाँले आन्तरिक पर्यटक एक रात
बसेर जाने र बाह्य पर्यटकहरु तीनदिनसम्म नगरकोटमा रमाउने गरेको उहाँकाृ भनाई छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भूकम्प, कोरोना र अलपत्र नगरकोट सडकका कारण थिलथिलो बनेको नगरकोटको पर्यटन व्यवसाय अहिले लयमा फर्किन थालेको बताउनु हुन्छ । सरकारले नगरकोट सडकको ठेक्का रद्ध गरेलगत्तै नगरपालिकाले सडक तिब्र गतिमा भक्तपुर नगरकोट १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गराए पछि पर्यटकको आगमन पनि बढेको उहाँले बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायणदेखि नगरकोटसम्म हाम्रो पालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो, त्यसैले नगरपालिकाले निर्णय गरेर हामीले नगरकोट सडक टेण्डर गरेर तिब्र गतिमा सडक निर्माण सम्पन्न गरायौ, यहाँको पर्यटन व्यवसायको विकास र प्रचारप्रसारका लागि नगरकोट भ्रमण वर्षको सुरुवात गरेका छौँ, पर्यटकको आगमनले व्यवसायी उत्साहित हुनुहुन्छ ।”
चाँगुनारायण, मण्डनदेउपुर र बनेपा नगरपालिका मिलेर नगरकोटको बिकासका लागि संयुक्त गुरुयोजना निर्माण गरि अगाडि बढ्ने सहमति बनेको बताउदै भ्रमण वर्ष सफल पार्न सबै नगरपालिका क्रियासिलता रहेको उहाँले बताउनुभयो । नगरकोटमा सामान्य, मध्यमवर्गदेखि उच्च तहका व्यक्तिहरु बस्न सक्ने गरि सामान्यदेखि पाँच चारे र साततारेसम्मका होटलहरु सञ्चालनमा आएको बताउदै उहाँले नयाँ हाटलहरु धमाधम थपिदै गएको बताउनुभयो ।
सरकारबाट नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउन नगरपालिकाले पहल गरिरहेको बताउदै उहाँले पर्यटन विकासका लागि प्रदेश र केन्द्रीय सरकारसंग पनि पहल गरिरहेको बताउनुभयो । नगरकोटको प्रकृति, संस्कृति र समुदायलाई बचाउदै नगरकोट केवल हेर्ने ठाउँ मात्रै होइन, यहाँ बस्ने, महसुस गर्ने, सिक्ने र अनुसन्धान गर्ने पनि हो भनेर चिनाउन खोजिरहको उहाँ बताउनुहुन्छ ।

पर्यटन व्यवसायी एवं होटल पिसफुल नगरकोटका सञ्चालक रामशंकर ध्वजुले नगरकोटमा पर्यटकको आगमन बढेपछि व्यवसायीले होटलमा लगानी बढाउन थालेका बताउनु हुन्छ । काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको नगरकोट समुद्री सतहदेखि दुई हजार १७३ मिटर उचाइमा रहेको नगरकोटको विकासमा भक्तपुर, काभ्रपलाञ्चोक र काठमाडौं जिल्लाले लगानी बढाउनु पर्ने उहाँले बताउनुभयो ।
व्यवसायी ध्वजुका अनुसार नगरकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विश्वका उत्कृष्ठ हिमश्रृखलाहरु लाङटाङ, दोर्जे लाक्पा, धौलागिरी, कञ्चनजंगा, मनास्लु, गणेश, गौरीशंकर, चोयु, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध रहेको बताउनु हुन्छ ।
नगरकोट प्राकृतिक सुन्दरता, हिमशृंखलाको मनोरम दृश्य, शान्त वातावरण, सुर्योदय–सूर्यास्तको अनुपम सौन्दर्य, र सांस्कृतिक विविधताको संगमका रूपमा परिचित छ। यहाँबाट लाङटाङ, गणेश, हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँसम्म कि मौसम अनुकूल भएमा माउन्ट एभरेष्ट समेत देख्न सकिन्छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले एक दिनमै फरक फरक मौषमको अनूभूति गर्न पाईने नगरकोट हिमाली दृश्य, सूर्योदय र सूर्यास्तमात्रै नभई यहाँका हरियालीले भरिएको घना वनजंगल, पाखा–पखेरा, घाँसे मैदान र खुल्ला प्राकृतिक वातावरणले पर्यापर्यटनमा समेत आकर्षण बढाएको बताउनुहुन्छ ।
यहाँको गुरुङ, तामाङ, शेर्पा लगायत जातिको स्थानीय संस्कृतिले पनि पर्यटकलाई सांस्कृतिक अनुभव दिने बताउदै उहाँले यहाँको ट्रेकिङ मार्ग, साइकलिङ ट्रेल, होमस्टे, साहसिक खेलहरू लगायतले विविध किसिमका पर्यटकलाई आकर्षित गर्दै बहुपक्षीय पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै उहाँको भनाई छ ।
‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले नगरकोटलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेलेका बताउदै उहाँले पर्यटकहरूलाई नगरकोटतर्फ आकर्षित गरेको मात्र होइन, स्थानीय व्यवसायीहरूलाई पनि उत्पादन र सेवा सुधार गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्