ज्येष्ठ नागरिक मिलन चौतारीको दिगोपनाका लागि चाँगुनारायणमा १ दिने सम्बन्ध विकास कार्यशाला ।
११ मंसिर २०८२
खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित सहारा परियोजना अन्तर्गत १ दिने सम्बन्ध विकास कार्यशाला सम्पन्न भएको छ। वडास्तरीय ज्येष्ठ नागरिक मिलन चौतारीको दिगोपनाका लागि जनप्रतिनिधिहरु, सहकारी संस्थाहरु, उपशाखाहरुबीच सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाको हलमा कार्यशाला सञ्चालन गरिएको थियो।
कार्यशालाको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीले ज्येष्ठ नागरिकहरुको सक्रियता तथा स्वस्थ जीवनयापनमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले रेडक्रससँगको सहकार्यमा स्वस्थ बुढ्यौली परियोजना सञ्चालन गरेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकहरुको जनसंख्या बढ्दो अवस्थामा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमले आमाबुबाहरुको मुहारमा खुशी ल्याउन सफल भएको बताउनुभयो। सहकारी संस्थाहरूलाई आफ्नो वार्षिक कार्यक्रमभित्र सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकका लागि सहयोगी गतिविधि तथा कार्यक्रमहरु राख्न अनुरोध गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले सहभागिहरूलाई स्वागत गर्दै सहारा कार्यक्रम साँच्चिकै चाँगुनारायण नगरबासी ज्येष्ठ नागरिकका लागि स्वस्थ, सक्रिय र मर्यादित जीवनयापनमा सहारा बनेको बताउनुभयो। उहाँले सम्बन्ध विकास कार्यशालाले स्थानीय तहमा रहेका सहकारी संस्था, रेडक्रसका उपशाखा र स्थानीय जनप्रतिनिधिहरूबीचको सहकार्य र समन्वयले ज्येष्ठ नागरिक मिलन चौतारीको सञ्चालनमा दिगोपनाको विश्वास व्यक्त गर्नुभयो।
कार्यशालामा सहारा परियोजना अन्तर्गत हालसम्म भएका प्रगतिबारे चाँगुनारायण नगरपालिकाका कार्यक्रम संयोजक दिपेश थापाले प्रस्तुतीकरण गर्नुभएको थियो भने ज्येष्ठ नागरिक मिलन चौतारीमा हुनुपर्ने न्यूनतम सेवा, सुविधा तथा सामग्रीहरूको बारेमा भक्तपुर रेडक्रसकी संयोजक उमा थापाले प्रस्तुतीकरण गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कोषाध्यक्ष प्रदीप कुमार के.सीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारी संस्थाहरूले प्रदान गर्दै आएका सेवाहरू तथा सञ्चालन गरेका गतिविधिहरूबारे जानकारी गराउनुभएको थियो। कार्यशालामा ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष तथा प्रतिनिधिहरु, वडाका जनप्रतिनिधिहरु, रेडक्रसका उपशाखाहरू र सहकारी संस्थाका सहभागिलाई ३ समूहमा विभाजन गरी आपसी समन्वय, सहकार्य र सहयोगमा सञ्चालन गर्न सकिने कार्यक्रम तथा गतिविधिबारे समूहगत छलफल गरी प्रस्तुतीकरण गरिएको थियो।
कार्यशालाको अनुगमन र निरीक्षण गर्दै नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले वडाका जनप्रतिनिधिहरू, सहकारीका प्रतिनिधिहरू, ज्येष्ठ नागरिक मिलन चौतारीका प्रतिनिधिहरू र उपशाखाका प्रतिनिधिहरूलाई आपसी सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गरी ज्येष्ठ नागरिक मिलन चौतारीका वार्षिक गतिविधिहरू सञ्चालनमा योगदान गर्न अनुरोध गर्नुभयो। उहाँले नगरबासी ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउनका लागि नगरपालिकाले रेडक्रससँगको सहकार्यमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा स्वस्थ बुढ्यौली परियोजना सञ्चालन गरेको बताउँदै, उमेरमैत्री शहर निर्माणतर्फ नगरपालिका अघि बढेकोले सबै सरोकारवालालाई हातेमालो गर्न आग्रह गर्नुभयो।

कार्यशालाको समापनमा मन्तव्य राख्दै कार्यपालिका सदस्य कमला गिरी भारतीले शरीरलाई माया गरे शरीरले साथ दिने भएकाले ज्येष्ठ नागरिकहरूले उमेर बढेसँगै स्वास्थ्यप्रति सजग हुनुपर्ने बताउनुभयो। ज्येष्ठ नागरिकहरूमा उमेरका कारण आउने बानी–व्यवहार परिवर्तनसँग परिवारका सदस्यहरूले अनुकूल भई सम्मानपूर्वक जीवनयापनमा सहयोग गर्नुपर्ने कुरा बताउनुभयो।
वडा नं. २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले सानो कुराले पनि ज्येष्ठ नागरिक खुशी हुने भएकाले परिवारका सदस्यहरूलाई आफ्नो घरमा रहेका ज्येष्ठ नागरिकसँग समय बिताउन र उहाँहरूका कुरा सुन्न अनुरोध गर्नुभयो। सरोकारवाला निकायबीचको सहकार्यले ज्येष्ठ नागरिक मिलन चौतारीमार्फत ज्येष्ठ नागरिकका लागि गतिविधि सञ्चालनमा आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक सेवाका लागि धनभन्दा पनि मन फराकिलो बनाउनुपर्ने कुरामा जोड दिनुभयो।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सरकारले ज्येष्ठ नागरिक सम्बन्धी कानुन तयार गरी ज्येष्ठ नागरिकका हकहित र संरक्षणका प्रावधान व्यवस्था गरेको बताउनुभयो। ज्येष्ठ नागरिकहरू ज्ञान, सीप र अनुभवका भण्डार भएकाले उहाँहरूको सधैँ सम्मान र आदर गर्नुपर्ने बताउनुभयो। लक्षित समूहको रूपमा ज्येष्ठ नागरिकका लागि काम पर्याप्त नभएको अवस्थामा चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रसबीचको सहकार्यमा सञ्चालित सहारा परियोजनाले ज्येष्ठ नागरिकका लागि चौतारीको रूपमा काम गरेको बताउनुभयो। उहाँले ६० वर्ष पूरा भइसकेका नगरबासी उमेरगत रूपमा बुढ्यौलीतर्फ ढल्किए पनि चाँगुनारायणका ज्येष्ठ नागरिकको क्रियाशीलताले सबैमा उर्जा थपेको बताउनुभयो।
कार्यशालामा कार्यपालिका सदस्य निर्मला के.सी, वडा सदस्यहरू, ९ वटै ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्षहरू, रेडक्रसका ९ वटै उपशाखाहरू, महिला बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख नीला कुमारी घिमिरे, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, सहकारी संस्थाका प्रतिनिधिहरू तथा नगरपालिका भित्रका स्वास्थ्य, सहकारी, सामाजिक विकास शाखा, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा सहारा परियोजनाका कर्मचारी गरी ४३ जनाको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्