Breaking News
चर्चामा:

‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ सम्पन्न

‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ सम्पन्न

‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ सम्पन्न
भक्तपुर, २९ असार : विश्व सम्पदा सूचीँमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा २१२ औँं भानु जयन्तीको अवसर पारेर आयोजना गरेको ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ आज सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको महोत्सव चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको सभापतित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा आज साँझ सम्पन्न भएको हो ।
कार्यक्रममा चर्चित कविहरु डा.सुलोचना मानन्धरले नगरकोटमा रहेको रानीझुलाकोबारेमा लेख्नु भएको कविता वाचन गरेसंगै कविता वाचनको चरण सुरु भएको थियो । त्यसपछि कविहरु श्रवण मुकारुङ, स्नेह सायमी, नारायण श्रेष्ठ, गिता त्रिपाठी, मणी लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, विमला तुम्खेवा, पुरु लम्सालले कविता वाचन गर्नु भयो ।
कविता वाचन गर्ने क्रममा विना थिङ, डा. सरोज धिताल, लक्ष्मी माली, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्र विक्रम नेम्वाङ, दिपक सापकोटा, गुरुङ्ग सुशान्त, अमन प्रताप अधिकारी, सिता तुम्खेवा, स्वप्तिन स्मृती, जुनु घिमिरे, दधिराम गेलाल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतिक, रामशरण न्यौपाने, रामगोपाल आसुतोष, कविराज घिमिरे, जनार्दन रिजालले सम्पदामाथि कविता वाचन गर्नु भएको थियो ।
चाँगुनारायण मन्दिर परिसरमै बसेर कलाकारहरुले बनाएको यस क्षेत्रका बिभिन्न सम्पदाहरुको चित्रको अवलोकन गर्दै कविहरुले कविता कोर्नु भएको थियो । कलाकार अर्थात चित्रकारहरु मुकेश श्रेष्ठले मनोहरा फाँट, जुजुभाई वाँस श्रेष्ठले सरस्वती मन्दिर, दिपेन्द्रमान बनेपालीले तामाङ्ग सेलो नृत्य, चाँगुनारायणवासी सरोज लामिछानेले रानीझुला (लामो झोलुङ्गे पुल)लाई क्यान्भासमा उतार्नु भएको थियो ।
स्थानीय कलाकार अञ्जन अधिकारीले बाँस्तोला गाउँको होमस्टे, पर्वत श्रेष्ठले महामञ्जुश्री मन्दिर, अंशुराम खाईजुले नगरकोट भ्यू प्वाइन्ट, मंगलकृष्ण प्रजापतिले माउण्टेन रेञ्ज, राजन श्रेष्ठले ज्योतिर्लिङ्गेश्वर महादेव, रामशरण प्रजापतिले चाँगुनारायण मन्दिर, गौरीमाया कोजुले बाल्मिकेश्वर महादेव, दिपेशमान सिंप्रधानले वोझिनी ड्यामलाई चित्रमा निकै आकर्षक रुपमा उतार्नु भएको थियो ।
त्यस्तै कलाकार झलक केसीले चाँगुनाराण मन्दिर, चन्द्रा श्रेष्ठले तामाङ जनजिवन, राधेश्याम कर्माचार्यले त्रिपुरासुन्दरी, किशोर नकर्मी गौतमले बुद्धलगायत बिभिन्न चित्रहरु क्यानसमा उतार्नु भयो । आज दिनभर चाँगुनारायण प्राङ्गनमा प्रर्दशनीमा राखिएको चित्रहरु हेरेर कविहरुले पहिलो चरणमा कविता रचना गर्नु भएको थियो भने त्यही कविता दोश्रो चणमा वाचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राईले कविता वाचन गर्ने कविहरु एवं चित्र कोर्ने कलाकारहलाई कदर पत्र प्रदान गर्दै सम्मान गर्नुभयो । उहाँले मठ मन्दिर बनाएर मात्रै हुदैन भन्दै कला, संस्कृति र भाषालाई जोगाएर यसलाई विश्वमाझ पस्कने सके पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले कला, साहित्य, सम्पदा र ऐतिहासिक धरोहरको संरक्षण गर्न सधै तत्पर रहेको भन्दै नगरपालिका साहित्यिक प्रतिष्ठान स्थापना गर्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्र स्थापनाको मूल आधार कला र साहित्य नै हो भन्ने यथार्थलाई भुल्न सकिदैन । साहित्यले नै विश्वमा ठूला परिवर्तन सम्भव भएको उदाहरण छ, अप्राकृतिक वस्तु देखाएर पर्यटक आकर्षित गर्ने जमानामा हामीसंग रहेका ऐतिहासिक, धार्मिक, सम्पदाहरुकोबारेमा प्रचार गरेर विश्वभरका पर्यटकलाई आकर्षित गर्ने उदेश्यले चाँगुनारायणको आँगनमा कला र साहित्यलाई एकैसाथ पस्किएका हौ ।”
चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख मोहनकुमार श्रेष्ठले नगरकोट भ्रमण वर्ष, पर्यटनको विकास र कला तथा साहित्य महोत्सवकोबारेमा चर्चा गर्नु भएको थियो ।कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, शंकरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, चाँगनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोजबहादुर तामाङ्ग, समिक्षकगुरुङ्ग शुसान्त र कुमारी लामाले कला र साहित्यको फ्युजनका रुपमा आयोजना गरिएको महोत्सव उत्कष्ट रहेको चर्चा गर्दै यसलाई अरु पालिकाले पनि अनुशरण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रम भ्रमण वर्ष सचिवालयका सदस्य सचिव एवं पयटन शाखाका प्रमुख गोविन्द कट्टेलले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका