रेडक्रसले एकवर्षमा ५१ हजार २५१ पिन्ट रगत वितरण, अस्पताल पुगेर प्रयोग नभएका रगत फिर्ता गर्नै चुनौती
-रमेश गिरी , भक्तपुर, ३१ जेठ : रगतको चरम अभावको अबस्थामा पनि नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले यो एकवर्षमा ५१ हजार २५१ पिन्ट रगत वितरण गरेको छ ।
आज २० औँ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखा भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा रगतको अभावका बीच भक्तपुर रगत लिन आउने विरामीका लागि रित्तो हात फर्काउने अबस्था नआएको जनाएको छ ।
पत्रकार सम्मेलनमा शाखाका सभापति परशुराम पाण्डेले भन्नुभयो, “रगत संकलन कम छ, रगतको माग धेरै छ, भक्तपुरमा रगत अभावको बेलामा पनि तीन पिन्ट रगत लिन आउनेलाई एक पिन्ट मात्रै भनेपनि दिएर पठाएका छौँ, रित्तो हात फर्किनु परेको छैन । रक्तदानका कार्यक्रम र रक्तदाताको संख्या बढाउनु आवश्यक छ ।”
नेपालभरिबाट भक्तपुर शाखामा रगतको माग आउने गरेको बताउदै रगतको चरम अभाव हुँदा व्यक्ति व्यक्ति बोलाएर आकस्मिक रक्तदान गर्न लगाएर भएपनि बिरामीलाई रगत दिएरै पठाउने गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार भक्तपुर शाखाले यस एक वर्षमा २० हजार ३८३ पुरुष र पाँच हजार ५५७ महिला गरि २५ हजार ९४० जना रक्तदाताले रक्तदान गरेको र एक जनाको रगतबाट तीन जनाले विरामीलाई रगत दिनसक्ने गरि रगत बनाएर ५१ हजार २५१ पिन्ट रगत वितरण गरेको छ ।
भक्तपुर शाखाले दैनिक रुपमा भक्तपुर दूधपाटीस्थित आफ्नै कार्यालयमा काठमाडौंको महाबौद्धमा र भक्तपुरको सरस्वतीखेलमा दैनिक रगत संकलन गरिरहेको बताउदै विरामीले उपचारका लागि अस्पताल लगेको लगत प्रयोग नभएपछि फर्काएर ब्लड बैंकमै ल्याउने कार्य नहुँदा धेरै रगत खेर गएको बताउनुभयो ।

अस्पतालमा रगत प्रयोग नभएपछि विरामीको आफन्तलाई त्यो रगत फिर्ता गर्न लगाईदिए र रगत फिर्ता भए अरु बिरामीको लागि प्रयोगमा आउने भन्दै सभापति पाण्डेले भक्तपुरमा रहेको शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालबाट अत्याधिक रगतको माग हुने गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले नेपालमा अहिले शुन्य दशमलव ९२ प्रतिशत नागरिकबाट मात्रै रक्तदान हुने गरेको भन्दै कूल जनसंख्याको २ प्रतिशत नागरिकले मात्रै रक्तदान गरिदिए पनि रगतको अभाव नहुने बताउनुभयो ।
तराईमा बढेको गर्मीका कारण उपत्यकामा संकलित रगत तराईसम्म पुर्याउनु पर्ने बाध्यता अहिले आएको भन्दै उहाँले रक्तदान गरेको ४५ दिनसम्म रगत राख्न सकिने भएकाले अस्पतालमा बिरामीका लागि लगेको रगत प्रयोग नहुँदा फिर्ता गर्न चुनौती बढेको बताउनुभयो ।
रेडक्रस भक्तपुर शाखाका महामन्त्री धर्मराज कार्कीले भक्तपुरबाट रगतको किनबेचको अबस्था अन्त्य गरेको बताउदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ्ग, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत संकलन गरिरहेको बताउनुभयो । विरामीका लागि चिकित्सकले रगत आवश्यक भनेर लेखिदिने बित्तिकै ठूलो तनाबको अबस्था अन्त्य रक्तदान गर्न आव्हान गर्नुभयो ।
शाखाका संचार संयोजक तुलसी नारायण दण्डेख्याको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडक्रस भक्तपुरको रक्त सञ्चार सेवा केन्द्रका संयोजक एवम् चाँगुनारायण–२ का वडाध्यक्ष सोमप्रसाद प्रधानले स्थानीय बासिन्दाले नगरपालिकाले दिने निःशुल्क रगत तथा रक्ततत्व सेवाको बारेमा स्पष्ट पार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्