एक लाख पुरस्कारसहितको राष्ट्रपति रनिङ शिल्ड श्रीकृष्ण माविले चौथो पटक उचाल्यो
चाँगुनारायण, ६ पुस : भक्तपुरको खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ को उपाधी हात पार्दै नगद एक लाख रुपैयाँ पुरस्कार, प्रमाणपत्र मेडलहरु हात पारेको छ ।
चाँगुनारायण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा एवं नगर खेलकुद विकास समितिको आयोजनामा आज सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ को शिल्ड यसवर्षसहित चौथो पटक उक्त विद्यालयले हात पारेको हो । तेश्रो पटकसम्म राष्ट्रपति रनिङ शिल्ड जितेर श्रीकृष्ण माविले शिल्ड आफ्नो बनाए पछि नगरपालिकाले यसवर्ष नयाँ शिल्ड खरिद गरेको थियो ।
नगरपालिकाले ६ दिनसम्म आयोजना गरेको प्रतियोगितामा श्रीकृष्ण माध्यमिक विद्यालयले १३ स्वर्ण, ११ रजत र १ कास्य गरी कुल २५ पदक जित्दै चौथो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको गरि ३५ विद्यालयका छात्र तथा छात्रा गरि दुई हजार ६० भन्दा बढी खेलाडीले कबड्डी, भलिबल, कराते, उसु, तेक्वान्दो, एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन र फुटसल खेलहरूमा प्रतिस्पर्धामा उत्रिनु भएको थियो ।
प्रतियोगितामा चाँगुनारायण माध्यमिक विद्यालयले ७ स्वर्ण, १ रजत र ६ कास्यसहित १४ पदक हात पार्दै द्वितीय स्थान, ६ स्वर्ण, ५ रजत र ६ कास्य गरी १७ पदकका जित्दै महेन्द्र ग्राम माध्यमिक विद्यालयले तृतीय, प्रज्ञा इङ्लिस स्कुल चौथो, गोल्डेन सुनगाभा इङ्लिस स्कुल पाँचौँस्थान प्राप्त गरेका थिए ।
नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरेर सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा भने उपप्रमुख रमेश बुढाथोकीले विजेता विद्यालयलाई शिल्डसहित पुरस्कार र उत्कष्ठ विद्यालयहरुलाई पुरस्कार, प्रमाणपत्र र मेडलहरु प्रदान गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरबाट विभिन्न देशमा आयोजना भएको प्रतियोतिामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकहरु सुस्मिता तामाङ, करुणा राउत भारती, रघु केसी, पुजा खडका र रोचक भारतीलाई जनही नगद ५१ हजारसहित सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्