दुवाकोटमा १३० हप्तादेखि निरन्तर “समुदायका लागि २ घण्टा” अभियान — सरसफाइसँगै चेतना फैलाउँदै
चाँगुनरायण नगरपालिका–२, दुवाकोटमा सञ्चालित “समुदायका लागि २ घण्टा” अभियानले शनिबार आफ्नो १३० औं हप्ता पूरा गरेको छ। प्राज्ञ आदर्श समाजको पहलमा सुरु भएको यो अभियान अहिले वडा कार्यालयको संयोजन र स्थानीय बासिन्दाको सक्रिय सहभागितासँगै दुवाकोटको समुदायिक पहिचान बनेको छ।
हरेक शुक्रबार बिहान ७ बजेदेखि ९ बजेसम्म चल्ने यो अभियानले सडक, मठ–मन्दिर, विद्यालय वरिपरिका क्षेत्र, टोल र गल्लीहरूमा नियमित सरसफाइ गर्दै आएको छ। वडा अध्यक्ष तथा अभियान संयोजक सोमप्रसाद प्रधानका अनुसार, अभियानले फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन सार्वजनिक स्थलहरूमा डस्टबिन स्थापना गरेको छ र आवश्यक ठाउँमा स्थानीयलाई नि:शुल्क वितरण पनि गरेको छ। साथै, सार्वजनिक सुरक्षाका लागि विभिन्न स्थानमा सिसीटीभी क्यामेरा जडान गर्ने कार्य पनि अभियानकै पहलमा गरिएको छ।
प्रधानले भने, “हामीले सरसफाइलाई एउटा सामाजिक आन्दोलनको रूपमा अगाडि बढाएका छौं। अहिले अभियान सरसफाइ मात्र होइन, जनचेतना र समुदायबीच एकताको प्रतीक बनेको छ।”
प्राज्ञ आदर्श समाजका अध्यक्ष नवराज काफ्लेले १०० औं हप्तापछि अभियानले नयाँ रूप लिएको बताए। उनका अनुसार विद्यालय र विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराएर वातावरणीय शिक्षा र नागरिक जिम्मेवारीबोध अभिवृद्धि गर्न अभियानले विशेष भूमिका खेलेको छ।
त्यस्तै, पूर्व वडाध्यक्ष शिवहरि केसीले १३० हप्तासम्म निरन्तरता दिन विभिन्न संस्था र समूहहरूको योगदान महत्वपूर्ण रहेको बताए। उनका अनुसार विद्यालयहरू, दुवाकोट स्वास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी, नेप्सेम्याक, प्रहरी प्रभाग, सहकारी संस्था र टोल सुधार समितिहरू सबैले हातेमालो गरेकाले यो अभियान सफल बनेको हो।
दीपावलीको दिन समेत स्थगित नभई पाथिभराटोलमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। सो अवसरमा टोल सुधार समितिलाई डस्टबिन हस्तान्तरण गरिएको थियो। पूर्व जनप्रतिनिधि मोहन पौडेलले यो कार्यले समुदायमा सरसफाइप्रतिको जिम्मेवारी थप बलियो बनाएको बताए।
कार्यक्रममा जनप्रतिनिधि उमेश प्रधान, प्रेम खत्री, गोविन्द प्रसाद आचार्य, पत्रकार होमनाथ कट्टेल, सल्लाहकार लोकेन्द्र ढकाल लगायत विभिन्न संघ–संस्था र स्थानीय अभियन्ताहरूको उपस्थिति उल्लेखनीय थियो।
समापन सत्रमा पाथिभरा टोल सुधार समितिका अध्यक्ष हेमकर्ण तिमल्सिनाले सहभागी सबैलाई धन्यवाद दिँदै भने, “समृद्ध चाँगुनरायणको यात्रामा टोल सुधार समितिहरूको भूमिका महत्वपूर्ण छ। हामी यही भावना र प्रतिबद्धतासहित अघि बढ्नेछौं।”
प्रतिक्रिया दिनुहोस्