Breaking News
चर्चामा:

चाँगुनारायणमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने

चाँगुनारायणमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने

चाँगुनारायणमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने

चाँगुनारायण नगरपालिका, भक्तपुरमा समुदायस्तरमै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी तिलगंगा सामुदायिक आँखा केन्द्र, दुवाकोट सञ्चालन गरिने भएको छ।

यस सम्बन्धमा चाँगुनारायण नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित दुवाकोट स्वास्थ्य चौकी परिसरमा आँखा केन्द्र सञ्चालन हुनेछ।

सम्झौताले पाँच वर्षसम्मको अवधिका लागि मान्यता पाएको छ भने आपसी सहमतिमा नवीकरण वा परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ। आँखा केन्द्रमार्फत दृष्टि तथा चश्मा जाँच, आँखा रोगको परीक्षण तथा उपचार, न्यूनतम शुल्कमा औषधि तथा चश्मा वितरण, साथै जटिल केसहरूलाई तिलगंगा आँखा अस्पतालमा रिफर गर्ने व्यवस्था रहनेछ।

नगरपालिकाले आँखा केन्द्र सञ्चालनका लागि आवश्यक भवन, न्यूनतम भौतिक पूर्वाधार तथा वार्षिक रूपमा कम्तीमा रु. ५ लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ। साथै बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गका नागरिकहरूका लागि विशेष बजेट व्यवस्था गरिनेछ।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानले आवश्यक प्राविधिक जनशक्ति, सामग्री तथा सेवा व्यवस्थापन गर्नेछ। सामुदायिक विद्यालयहरूमा नियमित आँखा जाँच कार्यक्रम र दुर्गम बस्तीहरूमा सामुदायिक आँखा शिविर सञ्चालन गर्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।

नगर प्रमुख जीवन खत्री, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा नेपाल आँखा कार्यक्रमका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताबाट चाँगुनारायण नगर क्षेत्रका करिब ५० हजारभन्दा बढी जनसंख्याले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका